बुधबार, ०९ साउन २०८१, दोलखा। रुस-युक्रेन युद्धमा परेका ३ सय २३ जना नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालयमा निवेदन परेको छ। सम्पर्कमै नरहेको भनी खोजी र फिर्ताका लागि निवेदन दिएको सङ्ख्या ११६ जना रहेको परराष्ट्रमन्त्री आरजु राणाले जानकारी दिएकी हुन।
बुधबार सिंहदरबार स्थित अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा बोल्दै परराष्ट्रमन्त्री राणाले उद्धारका लागि उच्च कूटनीतिक तहमा निरन्तर पहल भइरहेको बताइन्। उनले मस्कोस्थित नेपाली राजदूतावासले समन्वय गरी रुसी सेनाबाट नेपाल फर्काउन पहल भइरहेको पनि जानकारी दिइन्।
हालसम्म रुसी सेनामा ज्यान गुमाएकाको सङ्ख्या ३४ जना रहेको र डीएनए परीक्षणका लागि दिइएको सङ्ख्या २२ रहेको उनले उल्लेख गरिन्। युक्रेनमा ६ जना युद्धबन्दी रहेको उनले बताइन्।
त्यस्तै घाइते भई उपचाररत ५ जनामध्ये एक जना नेपाल फिर्ता भइसकेको उनको भनाई थियो। रुस पुगेकामध्ये १५० जना नेपाल फर्कि सकेको परराष्ट्रमन्त्री राणाले बताइन्।
