अघिल्लो महिनाको एकदिन। साझतिर, मोबाइल चलाइरहेकी थिएँ। त्यहीबेला म्यासेजको घण्टी बज्यो। कलेजको भाइबर ग्रुपमा म्यासेज आएको रहेछ। म्यासेजमा लेखिएको थियो, ‘भोलि बिहान ६:१० मा सबैजना कलेज आइपुग्नु।’

यो म्यासेज मेरा लागि नौलो थिएन। किनकी अघिल्ला दिनहरूमा कलेजबाट हाम्रो कक्षाका सबैलाई काठमाडौं नजिकैं कुनै ठाउँमा भ्रमण लैजाने कुरा भइरहेकै थियो। त्यस ठाउँमा प्रविधिले पुर्‍याएको सकरात्मक र नकरात्मक पक्षबारे हामीले नमुना संकलन गर्ने कुरा थियो। 

यति म्यासेज देखेपछि मेरा मनमा भने अनेकौं प्रश्न उब्जिन थाले। बिहान छिटो उठ्ने सोच बनाएर सुत्ने कोठातिर पसेँ। 

बिहान ५ बजेको ‘अलरम’ राखेँ र सुतेँ।

मोबाइलमा पहिलोपटक बझेको अलरामले बिइझिहालेँ। जुरूक्क उठेँ। तयार भएर कलेज हिडेँ। समयमै  कलेजमा पुगेँ। त्यतिबेलै सबैजना आइसकेका थिएनन्। साथीहरूलाई कुरून्जेल चिया पिउन क्यान्टिनतिर गयौं। चिया नास्तापछि सबैजना भेला भयौं। र यात्रा सुरू गर्‍यौं। 

हामी ७० जना विद्यार्थी थियौं। हामीलाई गाइडेन्स गर्न ५ जना शिक्षक हुनुहुन्थ्यो। हाम्रो यात्रा ललितपुरको गोदावरीसम्मको थियो। बिस्तारै दुरी घटदै थियो। मनमा उठेका अनेक कौतुहलता बढ्दै थियो। हाम्रो गाडी कोटेश्वर हुँदै लालितपुर महानगरपालिका प्रवेश गर्‍यो।

गाडी गुड्दै थियो कहिले नारायण गोपालको गीत त कहिले आधुनिक अनि कहिले हिन्दी गीतहरू घन्किरहेको थियो। कोही साथिहरु गीतसङ्गै रमाइरहेका थिए। कोही आफ्नै कुरामा व्यस्त थिए। म भने झ्यालबाट बाहिर देखिने दृश्यसँग रमाइरहेको थिएँ। 

कति छिटो गोदावरी पुगिसकिएछ। गाडी रोकिएपछि मात्र थाहा भयो।

सबै शिक्षक विद्यार्थी एउटा चउरमा भेला भयौँ। हाम्रो काम नमुना सङ्कलन गर्नु थियो। प्रतिवादीहरूसँग कसरी प्रश्न सोध्ने भन्नेबारे शिक्षकले सिकाउनुभयो। 

७० जना विद्यार्थीमध्ये एउटा समुहमा ६/६ जना थियौँ। प्रत्येक समुहमा एक जना लिडर र एक को-लिडर थिए। शिक्षकले भनेअनुसार हामी आ-आफ्नो समुहसहित गोदावरी महानगरको वडा न्ं. २, ३, ४ र ५ स्थित विभिन्न समुदायमा प्रवेश गर्यौ।

सबैले समुदायमा पुगेर अनिवार्य रूपमा ३० वटा घरबाट नमुना संकलन गर्नु थियो। नमुना संकलनको मुख्य उद्देश्य त्यस क्षेत्रभित्र रहेका समुदायमा सूचना प्रविधिले त्यहाँका सम्प्रदायमा पारेको प्रभावबारे बुझ्नु थियो।

गाउँ भन्ने बित्तिकै खासै सुचना,प्रविधिको पहुँच नपुगेको विकट ठाउँ होला भन्ने हलागेको थियो। तर राजधानीबाट नजिकै रहेको गोदावरी गाउँपालिका भने प्रविधिमा निकै अगाडि रहेछ। त्यहाँ पुग्दा हाम्रो अनुमान उल्टो भइदियो। त्यहाँ टेलिफोन र रेडियोको बिस्थापित प्राय भइसकेको रहेछ। मोबाइल र ल्यापटप चलाउनेको सङ्ख्या धेरै रहेछ।

केही घर अवलोकनपछि हामी चकित भयौं। सूचना र प्रविधिमा मुलुक निकै अघि बढिसकेछ भन्ने महसुस भयो। साच्चै ग्रामीण अनुहारको पछिल्लो परिवर्तनको लागि सूचना र प्रविधि मुख्य कारक नै हो। हाम्रो उद्देश्य पनि प्रत्यक्ष वा अप्रत्यक्ष प्रयोग गर्दै ग्रामीण क्षेत्रमा आईसीटीको प्रयोगलाई थप सरलीकरण र सुधारका लागि सहयाेग पुर्याउने थियो।

सामाजिक उपभोग र सेवामा केन्द्रित भएर अर्थतन्त्रलाई आईसीटीबाट फाइदा पुर्‍याउन त्यस क्षेत्रमा भइरहेका कार्यहरूलाई नमूना सङ्कलन गरेर रिपाेर्ट तयार पार्नु थियाे। स्थानीय आवश्यकतालाई सम्बोधन गर्न र ग्रामीण क्षेत्रको प्रचलित ज्ञान अनुसार पुन:समायोजन गर्न यस अधययनले सहयाेग गर्छ भन्ने कुरामा हामी विश्वस्त थियौ। 

आईसीटीमा आर्थिक वृद्धि र सामाजिक सशक्तिकरणको सम्भावना छ भन्ने निश्कर्ष निकाल्यौं। 

स्थानीयसँग कुराकानी गर्दागर्दै कतिबेला ३० वटै घरबाट नमुना सङ्कलन भइसकेछ। पत्तै भएन। घडीमा दिउँसोको १२ बजेको थियो। हामी सबै भेला भएको ठाउँमा १:०० बजे सम्म पुग्नु पर्ने थियो। भेटिएका प्राय सबैलाई फेरि पनि भेट्न आउने भन्दै हामी गाउँबाट निस्कियौं।

सबैजना गाडी पार्किङमै भेटियौं। खाना खायौं र घुम्न जाने योजना बनायौं। 

लालितपुर महानगरको चर्चित र पहिलो गन्तव्य रहेको ‘बोटनिकल गार्डेन’ पुग्यौं। जहाँ विभिन्न प्रजातीका रूख बिरूवा, वनस्पति, थुप्रै किसिमका फुलहरू थिए। एकछिन बगैँचामै भुलियौं। संरक्षण गरिएका सबैजसो बिरूवाको नाम हेर्दै त्यसबारे बुझ्यौं।

लोप हुन लागेका सबै किसिमका वनस्पतिहरू हेर्ने अवसर पाइयो। कहीकतैं फुलहरू ढकमक्क फुलेका थिए। धेरै पटक सुनेकी थिएँ तर पुग्ने अवसर जुरेको थिएन।  शान्त वातावरण पाइने गोदावरीको यो बगैंचा साच्चै सुन्दर थियो। राजधानीको कोलाहलबाट एकैछिन आनन्दको सास फेर्न भएपनि पुग्नैपर्ने ठाउँ लाग्यो। 

केहि क्षणको घुमफिर पछि सबैजना फेरि गाडी पार्किङमै भेटियौं। गाडी काठमाडौंतर्फ अघि बढ्यौं। हाम्रो यो यात्रा सकियो।