बागमती …


सिर्जना बस्नेत

म दुषित र सबैबाट घृणित फोहोरी बागमती बोल्दै छु
मलाइ कुनै रहर हैन फोहोरी बन्ने
मान्छेहरू मलाई थुक्ने र गिज्याउने गर्छन्
मलाइ देख्ने बित्तिकै नाक छोप्छन्
कोहि त भन्छन् मलाइ देखेर ज्वरो नै आयो रे….

थाहा छ जति नै फोहोरी भएपनि म एक्लो छैन
तैरिएका प्लाष्टिकहरू सँगै बगिरहेका छन्
प्लाष्टिक मात्र होइन,फालिएका थोत्रा कपडाहरूले पनि मेरो यात्रामा साथ दिइरहेका छन्
कोहि सधै सँगै बगिरहन्छन् त कोहि बिचमै हराइदिन्छन्…..

जब म फोहोरी भएँ, तब माछा र भ्यागुताले पनि साथ छोडिदिए….

एक पटक मेरो एक चाहना पुरा गरिदेउ न कोही
मलाइ मेरा ती साथीसँगै बस्न मन छ
बिन्ती एकपटक फेरि सफा बनाइदेउ न कोही
सफा र कञ्चन भएर बगिरहनेछु…….

म तिम्रो खेत र सिचाँइको साथी बनि दिउँला
तिम्रो प्यास मेटाउने म चिसो पानी बनि दिउँला
आउ बरू पौडिन म स्वीमिङ पुल बनि दिउँला…..

तिमिहरुलाई आफ्नो ज्यानको माया छ भने
मलाइ पनि सङ्लो बनाइदेउ
मेरो शुद्ध जल मन्दिरमा चढाइदेउ….

ए सहरवासीहरू,
हो म तिमिहरूकै बागमती बोल्दै छु
बिन्ती एकपटक फेरि सफा बनाइदेउ न
सफा र कञ्चन भएर बगिरहनेछु….!

सम्बन्धित खबर